७ बैशाख, काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्न नेपाल आयल निगम पुगेका राष्ट्रिय जेनजी नागरिक अभियानुका सदस्यहरूलाई प्रहरीले हस्तक्षेप गरी रोकेको छ ।
सोमबार बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेर्न पुगेका युवा आन्दोलनकारीहरूलाई प्रहरीले कार्यालय परिसरबाट हटाएको हो । निगमको गेटमै चर्को नाराबाजी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरिरहेका प्रदर्शनकारीहरूलाई प्रहरीले हटाएर नजिकैको बबरमहल चोकमा पुर्याएको थियो ।
इन्धनको भाउले नागरिकको दैनिक जीवन कष्टकर बनेको भन्दै युवाहरूको समूह आन्दोलित भएको हो । निगम परिसरमा तनाव बढ्न सक्ने भन्दै सुरक्षाकर्मीले उनीहरूलाई निषेधित क्षेत्रतर्फ जानबाट रोकेका थिए ।
बबरमहल चोकमा पुगेपछि पनि प्रदर्शनकारीहरूले सरकार र आयल निगमविरुद्ध प्लेकार्ड प्रदर्शन गर्दै इन्धनमा लगाइएको चर्को कर घटाउन र जनतालाई राहत दिन माग गरेका छन् । प्रदर्शनका कारण केही समय बबरमहल क्षेत्रको यातायात समेत प्रभावित भएको थियो ।



