७ बैशाख, काठमाडौँ । सुशासन र परिवर्तनको नारा दिएर राजनीतिमा आएका गृहमन्त्री सुधन गुरुङ गम्भीर विवादमा तानिएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान भोगिरहेका व्यवसायीहरूसँग मन्त्री गुरुङको प्रत्यक्ष व्यावसायिक साझेदारी रहेको तथ्य खुलेपछि उनीमाथि नैतिक र कानुनी प्रश्न उठेको हो ।
विशेष गरी बिचौलियाको पहिचान बनाएका दीपक भट्टको प्रभावमा लाइसेन्स पाएको भनिएको ‘स्टार माइक्रो इन्स्योरेन्स’ मा गृहमन्त्री गुरुङ संस्थापक सेयरधनी रहेको प्रमाण फेला परेको छ । उक्त इन्स्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा गुरुङको नाम छ, जहाँ उनले २५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गरेको देखिएको छ।
२०७९ सालमा लाइसेन्स पाएको यस लघु बीमा कम्पनीमा दीपक भट्टको लगानी रहेको इन्फिनिटी होल्डिङ्गससहित शंकर ग्रुप र जगदम्बा ग्रुपको समेत लगानी छ। यी समूहका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दामा प्रहरी अनुसन्धानको क्रममा हिरासतमा छन्।
सरकारी विवरणमा तथ्य लुकाइएको खुलासा
विवादको अर्को मुख्य पाटो मन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण हो। उनले गत साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणमा यो २५ लाखको लगानी कतै पनि उल्लेख गरेका छैनन् ।
गुरुङले आफ्नो विवरणमा होप होल्डिङ्स र अनुज प्रिमियम अपार्टमेन्टस्मा मात्रै संस्थापक सेयर रहेको दाबी गरेका थिए। यद्यपि उनले धितोपत्र बजारमा २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गरे पनि स्टार माइक्रो इन्स्योरेन्सको संस्थापक सेयर धितोपत्र बजारमा कारोबार हुने प्रकृतिको नभएकाले यो विवरणमा नसमेटिएको स्पष्ट हुन्छ।
व्यापारिक घरानासँगको ‘कनेक्सन’ र पारदर्शितामा प्रश्न
यसअघि गुरुङ नेतृत्वको संस्था ‘हामी नेपाल’ लाई सबैभन्दा ठूलो वैदेशिक तथा आन्तरिक चन्दा दिनेमा पनि शंकर समूह नै अग्रपंक्तिमा रहेको तथ्य सार्वजनिक भएको थियो। बिचौलियाको प्रभावमा लाइसेन्स बाँडिएको भनिएको कम्पनीमा लगानी हुनु र सोही लगानीलाई सरकारी विवरणमा गोप्य राख्नुले गृहमन्त्रीको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
आफ्नै व्यावसायिक साझेदारमाथि सम्पत्ति शुद्धीकरणको छानबिन भइरहेको अवस्थामा मन्त्री गुरुङको संलग्नताले अनुसन्धान प्रक्रियाको निष्पक्षतामा समेत संशय पैदा गरेको छ। यस विषयमा मन्त्री गुरुङसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।



