काठमाडौं । काठमाडौंको प्राचीन शहरी बस्ती असनको मौलिकता फिर्ता गराउन आजदेखि हरेक शनिबार गाडी प्रवेश निषेध अर्थात् ‘भेहिकल फ्रि असन’ लागू गरिएको छ ।
कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा गाडी प्रवेश निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । हरेक शनिबार असन क्षेत्रमा गाडी प्रवेश रोक लगाएर विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. २७ कार्यालयको नेतृत्वमा स्थानीय क्लब, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरूको सहभागितामा कार्यक्रमको शुरूवात गरिएको हो ।
अब शनिबार असन पुग्नेहरूले आफ्नो गाडीलाई धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कूल तथा अन्य तोकिएका ठाउँमा राखेर पैदल यात्राबाट असन पुग्नुपर्नेछ ।
यसले असन बजारको मौलिकता बढाउन योगदान गर्नुका साथै वायु प्रदूषण नियन्त्रण तथा शहरी वातावरणीय सुधारमा टेवा पुग्ने काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले विश्वास व्यक्त गर्नुभयो ।



