काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि किसिमका अतिरिक्त बिल वा रसिदहरू पेश गर्नु नपर्ने भएको छ ।
केही दिनदेखि सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभागको सूचनाका कारण श्रमिकहरूमा उब्जिएको अन्यौलता चिर्दै अध्यागमन विभागले आइतबार यस्तो प्रष्ट पारेको हो ।
अध्यागमन विभागले एक सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति र राहदानी ९पासपोर्ट० जस्ता आधारभूत कागजात मात्र देखाए प्रस्थान अनुमति (डिपार्चर) पाउने स्पष्ट पारेको छ ।
पछिल्लो समय विमानस्थलमा श्रमिकहरूले बिमा, कल्याणकारी कोष वा अन्य शुल्क बुझाएको बिल र रसिद समेत बोक्नुपर्ने हल्ला फैलिएपछि श्रमिकहरूमा त्रास र अन्यौलता बढेको थियो। विभागले प्रचलित कानुन र मन्त्रिस्तरीय निर्णय अनुसार श्रमिकहरूलाई अतिरिक्त झन्झट नदिई प्रक्रिया सहज बनाइने जनाएको छ ।
यसैगरी, भिजिट भिसामा विदेश जाने नागरिकहरूको हकमा पनि सरकारले प्रक्रियालाई निकै सरलीकृत गरेको छ । अब भिजिट भिसामा जानेहरूले कम्तीमा ६ महिनाको वैध राहदानी, सम्बन्धित देशको भिसा र दुईतर्फी हवाई टिकट साथमा राखेर स्वघोषणा फारम भरेमा सजिलै यात्रा गर्न सक्नेछन् । यसअघि भिजिट भिसामा जानेहरूले नाता प्रमाणित वा बैंक मौज्दातजस्ता विभिन्न कागजात जुटाउनुपर्ने बाध्यतालाई गृह मन्त्रालयको पछिल्लो निर्णयले हटाएको हो ।
अध्यागमन विभागले कुनै पनि किसिमको भ्रममा नपर्न र आफ्नो गन्तव्य मुलुकका बारेमा पूर्ण रूपमा सुसूचित भएर निर्धक्कसँग यात्रा गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ। कागजातका नाममा विमानस्थलमा हुने अनावश्यक सास्ती र बिचौलियाको चलखेल कम गर्न यो कदम चालिएको विभागको दाबी छ । यो नयाँ व्यवस्थासँगै विमानस्थलमा हुने भीडभाड कम हुने र यात्रुहरूले छिटो सेवा पाउने अपेक्षा गरिएको छ ।



