काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदका लागि निर्वाचनको प्रक्रिया सुरु भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज (बिहीबार) उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
संसद् सचिवालयका अनुसार उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय सीमा तोकिएको छ। प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनाअनुसार आजै दिउँसो साढे २ बजे उम्मेदवारीको दर्ता क्रमानुसार नामावली प्रकाशन गरिनेछ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचनका लागि भोलि (शुक्रबार) अपराह्न ४ बजेको समय तोक्नुभएको छ ।
नेपालको संविधानको धारा (१ को उपधारा ९२) मा सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र दुवै पदमा फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने स्पष्ट व्यवस्था छ।
हाल सभामुख पदमा पुरुष (डिपी अर्याल) आसिन रहेकाले अबको उपसभामुख पदमा महिलाको उम्मेदवारी मात्र दर्ता हुने निश्चित छ । साथै, सभामुख जुन दलको हो, उपसभामुख सोभन्दा फरक दलको हुनुपर्ने कानुनी व्यवस्थाका कारण सत्तापक्ष र प्रतिपक्षबीच उम्मेदवार चयनमा रस्साकस्सी देखिएको छ ।
प्रतिनिधिसभामा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमतको नजिक रहेकाले उपसभामुख कसले पाउने भन्ने कुरा उक्त दलको समर्थनमा निर्भर देखिन्छ। रास्वपाको समर्थन पाउने दलको उम्मेदवार नै उपसभामुखमा निर्वाचित हुने निश्चित जस्तै छ । संवैधानिक प्रावधानअनुसार विपक्षी दलहरूले पनि आफ्ना महिला उम्मेदवार उठाउने तयारी गरेका छन् ।
शुक्रबारको बैठकमा उम्मेदवारीको प्रस्तावमाथि छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ । उपसभामुख चयन भएसँगै प्रतिनिधिसभाले पूर्णता पाउने र संवैधानिक परिषद्को बैठकमा समेत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने विश्वास गरिएको छ ।



