काठमाडौं । नेपालमा ३० वर्षे निर्दलीय पञ्चायती शासन व्यवस्थाको अन्त्य भई प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ‘जनआन्दोलन दिवस’ मनाइँदै छ । विसं २०४६ चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको घोषणा गरेको दिनलाई आधार मानी हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी सुरु गरेको पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेस र विभिन्न वाम घटकहरूको सम्मिलित ‘संयुक्त जनआन्दोलन’ पछि मुलुकमा प्रजातन्त्र फर्किएको थियो । “सर्वमान्य नेता” गणेश मान सिंहको कमान्डमा भएको सो ऐतिहासिक आन्दोलन ५० दिनसम्म निरन्तर चलेको थियो।
२००७ साल फागुन ७ गते प्राप्त भएको प्रजातन्त्रको जगमा टेकेर २०४६ फागुन ७ गतेबाटै यो आन्दोलन औपचारिक रूपमा सुरु गरिएको थियो । आन्दोलनले देशभर उचाइ लिएपछि अन्ततः २०४६ चैत २६ गते मध्यरातमा राजा वीरेन्द्रले रेडियो नेपालमार्फत देशवासीका नाममा सम्बोधन गर्दै दलहरूमाथिको प्रतिबन्ध फुकुवा र बहुदलीय व्यवस्था पुनः स्थापनाको घोषणा गरेका थिए ।
आजको दिनलाई नेपाली राजनीतिक इतिहासमा नागरिक सर्वोच्चता र स्वतन्त्रता प्राप्तिको एक महत्त्वपूर्ण प्रस्थानविन्दु मानिन्छ । दिवसको अवसरमा विभिन्न राजनीतिक दल, नागरिक समाज र संस्थाहरूले विचार गोष्ठी, प्रभातफेरी तथा सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गरेका छन् ।
यो ऐतिहासिक उपलब्धिले नै पछि २०६२/६३ को दोस्रो जनआन्दोलन र गणतन्त्र प्राप्तिको मार्ग प्रशस्त गरेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।



