बीरगंज । “रक्तदान नै जीवनदान हो” भन्ने मूल नारालाई आत्मसात गर्दै क्वाइनोनिया वीरगञ्ज चर्चले रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। वीरगञ्ज महानगरपालिका–१६ मिथिलानगरस्थित चर्च परिसरमा आइतबार आयोजित उक्त कार्यक्रममा २३ महिला सहित कुल ७९ जनाले रक्तदान गरेका थिए ।
चर्चले विगतदेखि नै समाजमा रहेका विकृति तथा कुप्रथाविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसैक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबाट रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको जानकारी पाएपछि कार्यक्रम आयोजना गरिएको हो रक्तदान गर्नेहरूमा कार्यक्रम संयोजक जेबिना महर्जन, राधिका महर्जन, रविता महर्जन, प्रिया मिश्रा, तब्बसुम बेगम, विभा यादव, आस्मीन बेगम, पुष्पा महर्जन, रेशमा पोखरेल, काजल सिजाली, सम्झना घिमिरे, कविता पासवान, शर्मिला सुनार, क्षेत्र बहादुर क्षेत्री, विशाल सिंह, अंश पण्डित, नरेन्द्र चौधरी लगायत रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा नं। १६ का अध्यक्ष परशुराम चौरसिया ले रक्तदानजस्तो पुण्य कार्यको आयोजना गरेकोमा आयोजकलाई प्रशंसा तथा धन्यवाद व्यक्त गर्दै नियमित रूपमा प्रत्येक तीन महिनामा रक्तदान गर्न आग्रह गरे। उनले रक्तदानले दातालाई कुनै नोक्सानी नहुने तर बिरामीका लागि जीवनरक्षक हुने उल्लेख गरे।
विशिष्ट अतिथि बृजकिशोर पटेल ले बढ्दो गर्मीसँगै वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव हुँदा नारायणी अस्पताल लगायतका अस्पतालमा उपचाररत बिरामीहरूलाई समस्या भइरहेको बताए। उनले यस्तो अवस्थामा सबैले हातेमालो गरी रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
शिक्षाविद् मार्टिन मोक्तान ले पनि रक्तदानलाई जीवन बचाउने महान कार्यको रूपमा व्याख्या गर्दै सबैलाई नियमित रूपमा सहभागी हुन आग्रह गरे ।
चर्चका पाष्टर राजकुमार घोमिरे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, युवा तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक जेबिना महर्जनका अनुसार छोटो समयमै आयोजना गरिएको यस कार्यक्रमले ठूलो सफलता पाएको छ। उनले रक्तदानमा सहभागी सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरिन्।
कार्यक्रमका वक्ताहरूले रक्तदानलाई मानवीय सेवाको उच्चतम रूपको रूपमा व्याख्या गर्दै यस्तो अभियानमा सबै वर्गको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
