काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नुभयो ।
आजको कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले डोलप्रसाद अर्याल लाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रसाव पेस गर्नुभएको थियो ।
लामिछानेको प्रस्तावमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नुभयो । अस्ति शुक्रबार अर्यालले सभामुखमा मनोनयन दर्ता गर्नुभएको थियो । सभामुख पदमा उहाँको एकल उम्मेदवारी परेको थियो ।
अर्याल गएको फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बन्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो एक बजे बस्ने गरी स्थगित भएको छ ।
सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।
गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् । अबदेखि अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।
