काठमाडौं । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्षित गरेर लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई अध्यादेशमार्फत संशोधनका राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएकाले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता शर्माले बताउनुभयो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । शेखको नेपाल भ्रमणका क्रममा दुवै देशलाई फाइदा हुने गरी विभिन्न मन्त्रालयसँग सम्बन्धित द्विपक्षीय सम्झौताहरु हुने जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले सचिव मधुकुमार मरासिनीलाई अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको शर्माले जानकारी दिनुभयो ।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा पर्नुभएको थियो । तर अदालतले सफाइ दिएपछि उहाँको निलम्बन फुकुवा भएसँगै सरुवा गरिएको हो भने हाल अर्थसचिव रहनुभएका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
