काठमाडौं । मतदाता नामावली सङ्कलनको काम आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा सदस्य चुनावका लागि गएको मङ्सिर देखि नामावली सङ्कलन कार्य स्थगित भएको थियो ।
निर्वाचन आयोगको गएको बुधबारको बैठकले मतदाता नामावली सङ्कलनको काम शुरु गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावली मा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नु पर्नेछ । आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरणका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था मिलाएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा त्योभन्दा बढी मतदानस्थल रहेको भए पायक पर्ने ठाउँमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार पनि सच्याउन सकिनेछ । आयोगले मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।



