काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।
कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई हुनेछ ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
भोलि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा आउँदो २९ गते सकिनेछ । परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइनेछैन ।
एक महिनाभित्रै नतिजा दिने लक्ष्य
यसपटकको एसईईमा ठूलो परिवर्तन गर्दै बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने योजना बनाएको छ। नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले नतिजा छिटो सार्वजनिक गर्न निर्देशन दिएपछि बोर्डले जुन परीक्षा केन्द्रमा परीक्षा भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ।
यसअघिका वर्षहरूमा एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर गोप्य रूपमा परीक्षण गर्ने गरिए पनि यसपालि समय बचाउन सम्बन्धित केन्द्रमै परीक्षणको व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
यदि कुनै केन्द्रमा शिक्षक अभाव वा असुरक्षा भएमा मात्र शिक्षा विकास तथा समन्वय एकाइले समन्वय गरी अर्को ठाउँमा परीक्षण केन्द्र सार्न सक्नेछ।
