वीरगञ्ज । वीरगञ्ज स्थित मधेश विश्वविद्यालयमा कार्यरत एक कर्मचारी छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको र शैक्षिक भविष्यमाथि खेलबाड गर्न खोजेको गम्भीर आरोपमा पक्राउ परेका छन् । विश्वविद्यालयको प्रशासन शाखा सम्हाल्दै आएका राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि निरन्तर दबाब दिँदै आएका थिए । पीडित छात्राले दिएको उजुरीमा उल्लेख भए अनुसार, आरोपित गद्दीले आफ्नो प्रस्ताव स्वीकार गरेमा परीक्षामा विभिन्न सुविधा मिलाइदिने प्रलोभन देखाउने र अस्वीकार गरेमा ’माक्र्स’ घटाइदिने तथा अनुत्तीर्ण गराइदिने भन्दै मानसिक यातना दिने गरेका थिए ।
सुरुमा सहयोग गर्ने बहानामा सम्पर्क बढाएका गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देशहरू पठाउन थालेका थिए । प्रस्ताव अस्वीकार गरेपछि उनले छात्राको शैक्षिक करियर नै समाप्त पारिदिने चेतावनी दिएको दाबी गरिएको छ ।
सोही आधारमा पीडितले गत चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएकी थिइन् । उजुरी परेपछि फरार रहेका गद्दीलाई प्रहरीले व्यापक खोजतलासपछि पक्राउ गर्न सफल भएको हो ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले आरोपितमाथि कानुनी प्रक्रिया सुरु गरिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । “हामीले आरोपितलाई नियन्त्रणमा लिएर थप प्रमाणहरू संकलन गरिरहेका छौँ,” उनले भने ।
यो घटना सार्वजनिक भएसँगै मधेश विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै शोषणको सिकार भएको हुन सक्ने आशङ्का गरिएको छ । शैक्षिक मर्यादाको केन्द्र मानिने विश्वविद्यालयभित्रै कर्मचारीबाट यस्तो हर्कत हुनुले विद्यार्थीको सुरक्षा र गरिमामाथि गम्भीर प्रश्न उठाएको छ ।
विशेष स्रोतका अनुसार पक्राउ परेका राजु गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गद्दीका भतिजो हुन् । उच्च राजनीतिक पहुँच भएका व्यक्ति नै यस्तो संवेदनशील र अनैतिक कार्यमा संलग्न रहेको तथ्य बाहिरिएपछि यस घटनाले थप चर्चा पाएको छ ।



