काठमाडौं । पश्चिम एसियामा जारी तनावका बिच इरानले कुवेतको एक महत्त्वपूर्ण पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण गरेको छ। कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ (विद्युत् तथा जल शुद्धीकरण केन्द्र) लाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ।
कुवेतको विद्युत् तथा जल मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत विज्ञप्ति जारी गर्दै आक्रमणमा परी प्लान्टमा कार्यरत एक भारतीय कामदारले ज्यान गुमाएको जनाएको हो ।
मन्त्रालयका अनुसार आक्रमणबाट प्लान्टको प्राविधिक संरचनामा ठुलो क्षति पुगेको छ। “आक्रमणपछि अवरुद्ध भएका अत्यावश्यक सेवाहरू पुनः सुचारु गर्न प्राविधिक टोलीले युद्धस्तरमा काम गरिरहेको छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
यद्यपि, क्षतिको विवरणबारे फरक–फरक दाबीहरू बाहिर आएका छन् । मन्त्रालयकी प्रवक्ता इन्जिनियर फातिमा अब्बास जोहर हाइताले भने प्लान्टको मुख्य भवनमा खासै ठुलो क्षति नपुगेको बताएका बीबीसीले जनाएको छ। उनका अनुसार मानवीय क्षति र केही प्राविधिक उपकरणमा क्षति पुगे पनि संरचनागत रूपमा भवन सुरक्षित रहेको छ।
पछिल्लो समय इरान र इजरायलबीच बढ्दो सैन्य टकरावको असर छिमेकी मुलुकहरूमा पनि देखिन थालेको छ। कुवेत जस्तो शान्त मुलुकको महत्त्वपूर्ण ऊर्जा केन्द्रमा भएको यो आक्रमणले खाडी क्षेत्रमा रहेका लाखौं विदेशी कामदारहरूको सुरक्षामा गम्भीर प्रश्न खडा गरिदिएको छ ।
भारत सरकारले आफ्ना नागरिकको मृत्युका बारेमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन, तर कुवेतस्थित भारतीय दूतावासले यसबारे थप जानकारी लिइरहेको बुझिएको छ।



