१६ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका शाहले आज सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री शाह नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यसअघि पदभार ग्रहण गरेकै दिन बसेको पहिलो बैठकले मुलुकको शासकीय सुधारका लागि ‘१०० वटा कार्यसूची’ (एक्सन प्लान) पारित गरेको थियो ।
आजको बैठकमा ती कार्यसूचीहरूको कार्यान्वयन प्रक्रिया, मन्त्रालयगत जिम्मेवारी र समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा महत्त्वपूर्ण निर्णयहरू हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विगतका सरकारहरूले पनि सामान्यतया हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने परम्परालाई निरन्तरता दिँदै आएका थिए । नवगठित सरकारले पनि सोही कार्यतालिकालाई पछ्याउँदै आज सोमबार नै बैठक बोलाएको हो ।
विशेष गरी प्रधानमन्त्री शाहले अघि सारेको सयवटा कार्यसूचीभित्र भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुदृढीकरण र आर्थिक सुधारका मुद्दाहरू प्राथमिकतामा रहेकाले आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ । बैठकले केही महत्त्वपूर्ण नियुक्ति तथा प्रशासनिक हेरफेरका निर्णयहरू समेत गर्न सक्ने अनुमान गरिएको छ ।



