काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ। ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरू हुनेछ।
नेपाल ए को समूहको विजेता र युएई समूह बी को उपविजेता हुन्। नेपाल समूह ए बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दा युएई ४ खेलमा तीन जित र एक हारसँगै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।
यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो। टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएको छ।



