काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरातमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ । आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै नेपालले सेमिफाइनल खेल्नेछ । नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
हिजो भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलेको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसिया र हङकङको समान २–२ अङ्क छ ।
आजको खेलमा नेपाललाई हराउन सके साउदी अरेबिया ४ अङ्कका साथ सेमिफाइनल खेल्ने सम्भावना छ । नेपालले यसअघिका खेलमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङलाई हराएको थियो भने मलेसिया र कतारसँग हारेको थियो ।
आज बिहान पौने १२ मा मलेसिया र हङकङबीच पनि खेल हुँदैछ । ४ अङ्कका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित निकाल्नुपर्छ । समूह ‘बी’ मा ओमान ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जितसहित ४ अङ्कका साथ दोस्रो स्थानमा छ ।
त्यस्तै यूएई ३ खेलमा २ मा जितसहित ४ अङ्कका साथ तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अङ्क विहीन हुँदै पुछारमा छन् । आज दिउँसो सवा ४ बजे ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।
