चितवन । बर्खायाम सुरु भएसँगै बन्द गरिएको प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी असोज २३ गतेदेखि पुनः सञ्चालनमा आएको छ । असार १७ गतेदेखि रोकिएको सफारी निकुञ्जभित्रका मुख्य सडक तथा रुटहरूको मर्मतसम्भारपश्चात् खुला गरिएको हो ।
अविरल वर्षा र असोज दोस्रो साता आएको भीषण बाढीका कारण निकुञ्जभित्रका सवारी सञ्चालन हुने सडकहरू क्षतिग्रस्त बनेका थिए । सडकको मर्मत, बाटोमा ढलेका रुख पन्छाउने तथा झाडी फाँड्ने कार्य सम्पन्न भएसँगै जिप सफारी नियमित गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । बाढीका कारण रुटहरू धेरै बिग्रिएकाले यस वर्ष सफारी पुनः खुला गर्न केही समय लागेको उहाँको भनाइ छ ।
निकुञ्जभित्र जिप सफारी बन्द रहेको अवस्थामा पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने बाह्रै महिना जिप तथा हात्ती सफारी यथावत् सञ्चालनमा रहने गर्छ ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि विभिन्न नाकाबाट जिप सञ्चालन हुने गर्दछन् । जस अन्तर्गत सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट ८ र माडीबाट १ गरी कुल ७४ वटा जिप निकुञ्जभित्र प्रवेश गर्ने अनुमति पाएका छन् ।
दसैँ-तिहारको पर्यटकीय सिजन सुरु भएसँगै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, पाटे मृग, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि निकुञ्जमा पर्यटकहरूको चहलपहल पुनः बढ्ने विश्वास लिइएको छ।
