काठमाडौं । बडादशैँ शुरु भएसँगै काठमाडौंको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाडौंमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन् ।
नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरु गाउँ फर्किने क्रम बढेको हो ।
नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले यही असोज १७ देखि हिजो २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजारभन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो ।
दशैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
यही असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीमा पृथ्वी राजमार्ग भासिएर गाडी आवागमन अवरुद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो । महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।
