रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपा लाबुङका अनुसार गोप्य सूचनाका आधारमा सुरु गरिएको खानतलासीका क्रममा सुरुमा चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा पक्राउ परेका थिए । उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको थियो ।
सोही क्रममा चन्द्रपुर–४ गणेशचोकस्थित एक घरमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको कोठाबाट ब्राउन सुगर जोख्ने डिजिटल मेसिन र प्याक गर्न प्रयोग गरिने प्लास्टिकका टुक्राहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको प्रारम्भिक बयानका आधारमा प्रहरीले चन्द्रपुर–१ बाट २९ वर्षीय प्रशान्त तामाङलाई पनि समातेको छ । उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी लाबुङले जानकारी दिएकी छन् ।



