भारत । महाशिवरात्रिको पावन अवसरमा भारतको मध्यप्रदेशस्थित बागेश्वर धाममा भव्य सामूहिक कन्या विवाह कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यस वर्ष करिब ३०० बिपन्न असहाय कन्याहरूको विवाह सम्पन्न गरिएको बागेश्वर धाममा शिष्य कन्हैया पटेलले जनाएका छन ।
मन्दिरमा भक्तजनले चढाएको दानपेटी तथा भक्तजनहरू बाट आएको सहयोग संकलित रकम प्रयोग गरी हरेक वर्ष झै यस वर्ष पनि गरिब छोरीहरूको विवाह गराइएको हो। यो बर्ष कार्यक्रममा नेपालको सुदूरपश्चिम महेन्द्रनगर बाट एक कन्या समेत छनोट भएको पटेल ले बताए।

कार्यक्रम बागेश्वर धाम सरकारको सामाजिक अभियानअन्तर्गत सञ्चालन हुँदै आएको हो, जसअनुसार प्रत्येक मन्दिरको दानपेटीबाट गरिब कन्याको विवाहजस्ता सामाजिक कार्य गर्नुपर्छ भन्ने सन्देश दिइँदै आएको छ।
कन्या विवाह संगै दानपेटीबाट संकलित रकम बाट भण्डारा, गुरुकुल सञ्चालन तथा क्यान्सर अस्पताल निर्माणजस्ता योजना पनि अघि बढाइएका छन् पटेल ले बताए ।
यस बर्ष सामूहिक विवाह कार्यक्रमको सातौँ संस्करण हो। करिब दुई महिनासम्म फारम संकलन गरी घर–घर पुगेर छनोट प्रक्रिया सम्पन्न गरिएको थियो। ३० हजार किलोमिटर यात्रा गरेर ४० सदस्यीय टोलीले दुई महिनासम्म काम गर्दै ३०० कन्या छनोट गरेको बताइएको छ।सो सामूहिक विवाहमा १०८ आदिवासी कन्याको नाम चयन गरिएको थियो।

बागेश्वर धामका पिठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्री ले कन्याहरूको धर्मपिताको भूमिका निर्वाह गर्दै विवाहमा आशीर्वादको रूपमा आवश्यक सम्पूर्ण घरायसी सामग्री, सुन–चाँदीका गरगहना तथा प्रति जोडी ३० हजार भारतीय रुपैयाँ प्रदान गरेका छन्।
यस सामूहिक विवाह कार्यक्रम अन्तर्गत वैदिक विधिअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिएका थिए। विवाहअघि कलश यात्रा र मंगल प्रवेश, मेहन्दी तथा हल्दी समारोह आयोजना गरिएको थियो। त्यसपछि बरात स्वागत, जयमाला, हवन, सप्तपदी (फेरे) र कन्यादान विधि सम्पन्न गरिएको आयोजकले जनाएको छ।

विवाहपछि नवविवाहित जोडीलाई आशीर्वाद दिँदै विदाइ कार्यक्रम तथा सहभागी सबैका लागि विशाल भण्डारा आयोजना गरिएको थियो।
वैवाहिक समारोहमा ९ देशका राजदूत, विभिन्न देशका साधु–सन्त, कथावाचक, राजनीतिक नेतृत्व, कलाकार तथा हजारौँ भक्तजनको भव्य उपस्थिति रहेको थियो।

बागेश्वर धाम सरकारले हिन्दुत्व र सनातन धर्मको प्रचार–प्रसारसँगै सामाजिक सेवा अभियानलाई निरन्तर अघि बढाउँदै आएका छन। साथै २०२७ भित्र गरिब तथा असहायका लागि निःशुल्क उपचार हुने क्यान्सर अस्पताल निर्माण गर्ने योजना समेत अघि सारिएको छ, जुन मन्दिर परिसरमै निर्माण हुने विश्वकै पहिलो अस्पताल हुने दाबी गरिएको छ।



