काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिका–३ का एक बालकमा दादुराको लक्षण देखियो । सुरुमा देखिएको लक्षण दादुरासँग मिल्दोजुल्दो भए पनि तत्कालै दादुरा हो भन्ने पुष्टि हुन सकेन । शंकाका आधारमा लिइएको नमुना परीक्षण गर्दा भने दादुरा पुष्टि भयो ।
पहिलो संक्रमित बालकको पहिचानसँगै स्वास्थ्यकर्मीहरू थप सतर्क बने । केही दिन नबित्दै बालकको सम्पर्कमा आएका अन्य बालबालिकामा पनि उस्तै लक्षण देखिन थाल्यो । त्यसपछि पहिलो संक्रमितसँग नजिकको सम्पर्कमा रहेका ६ जना शंकास्पद बालबालिकाको नमुना संकलन गरियो । परीक्षणको नतिजाले सबैलाई चकित बनायो । सबै जनामा दादुरा पुष्टि भयो ।
अहिलेसम्म दादुराको लक्षण देखिनेको संख्या २३ पुगेको छ । तीमध्ये २२ जना मुस्लिम समुदायका बालबालिका छन् । स्वास्थ्य प्रणालीले यसलाई सामान्य घटना नभई महामारीको रूपमा लियो ।
त्यसपछि तयारी तीव्र बनाइयो । राष्ट्रिय खोप समिति तथा महामारी प्रतिकार्य संयन्त्रसँग समन्वय गर्दै मलङ्गवामा आपतकालीन बैठक बस्यो । निगरानी कडा पारियो र संक्रमण फैलिन नदिन खोप अभियान सुरु गर्ने निर्णय गरियो ।
