बारा । बाराको प्रसौनी गाउँपालिका–६ मा गएराति घाँटी रेटेर हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार हत्या गरिएका व्यक्ति सर्लाही धनकौलका ४२ वर्षीय राम किशोर सिंह हुन्। उनी प्रसौनीस्थित किरण वेभरेजका व्यवस्थापक रहेका थिए।
डीएसपी पण्डितका अनुसार सिंहको शव आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा आसपासका व्यक्तिहरूबाट बयान लिने काम गरेको छ।
“प्रारम्भिक अनुसन्धान अनुसार उनको घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ। हामी सबै कोणबाट अनुसन्धान अगाडि बढाइरहेका छौँ,” डीएसपी पण्डितले बताए।
हत्या किन र कसले गर्यो भन्ने विषयमा प्रहरीले अहिलेसम्म कुनै पनि अनुमान सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धानलाई तीव्र गतीमा अघि बढाइएको प्रहरीको भनाइ छ।
शवलाई पोस्टमार्टमका लागि कलैया अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल आसपासका कर्मचारी, स्थानीयवासी तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने कार्य जारी छ। साथै, क्षेत्र ख्बचपर रहेका सीसीटीिभी फुटेजहरू पनि प्रहरीद्वारा संकलन गरी विश्लेषण भइरहेको जनाइएको छ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा यो योजनाबद्ध हत्या भएको आशंका प्रबल छ। घटना बाहिरिएसँगै प्रसौनी तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले अनुसन्धानको प्रगति अनुसार थप विवरण सार्वजनिक गरिने जनाएको छ।
