हङकङ। हङकङको उत्तरी ताइ पो जिल्लास्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या कम्तीमा ४४ पुगेको छ भने सयौँ मानिस अझै बेपत्ता छन्। आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन नसकिएका कारण उद्धार कार्य जटिल बनेको हङकङ फायर सर्भिस विभागले जनाएको छ।
खुला आँकडा अनुसार आगलागी सुरु भएको करिब २४ घन्टा बितिसक्दा पनि धेरै ब्लकहरूमा आगो बलिरहेको छ। विस्तृत विवरण संकलन भइरहेकाले मृत्यु र बेपत्ता हुनेको संख्या थप बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।
हङकङ प्रहरीले आगलागी प्रकरणमा मानव वध (manslaughter) को आरोपमा तीन जनालाई पक्राउ गरेको पुष्टि गरेको छ। भवनमा चलिरहेको मर्मत सम्भारका क्रममा बेवास्ताका कारण दुर्घटना भएको आशंकासहित प्रहरीले थप अनुसन्धान अघि बढाएको हो ।
बुधबार दिउँसो सुरु भएको आगो वाङ फुक कोर्टका आठ मध्ये धेरै भवनको बाहिरी भागमा मर्मतका लागि प्रयोग गरिएको बाँसको स्काफफोल्डिङमा झनै तीव्र रूपमा फैलिएको थियो। करिब २ हजार अपार्टमेन्ट रहेको यो विशाल आवासीय भवनमा आगो द्रुत गतिमा एक ब्लकबाट अर्कोमा फैलिँदा ठूलो मानवीय क्षति भएको अधिकारीहरूको भनाइ छ।
हङकङका प्रमुख कार्यकारी जोन ली का–चियुले घटनास्थल वरपरका ९ सय भन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्।
एएफपीका पत्रकारका अनुसार आगलागीको समयमा भवनहरूको बाहिरी भागमा रहेको बाँस चर्किँदा ठूला आवाज सुनिएको थियो। आगोले निकालेको बाक्लो धुवाँ आकाशभरि फैलिएको थियो र आगाका लप्का उच्च तल्लासम्म देखिन्थे ।
ताइ पो क्षेत्र हङकङकै वृद्ध निवासी धेरै भएको भूभाग मानिन्छ। स्थानीय युएन नामक ६५ वर्षीय बासिन्दाले धेरै वृद्धले चल्न–फिर्न नसक्ने भएकाले उद्धारमा कठिनाइ बढेको बताए।
“मर्मतका कारण धेरै फ्लाटमा झ्याल बन्द थिए। धेरैलाई आगो लागेको थाहा नै थिएन, छिमेकीले फोन गरेर बच्न भनेपछि मात्रै बाहिर निस्कन सके,” उनले बताए। “धन र जन दुवैको क्षति भयो। एक अग्नि नियन्त्रणकर्मीको पनि मृत्यु भएको सुन्दा झनै पीडा छ।”
फायर–सर्भिसका उपनिदेशक डेरेक आर्मस्ट्रङ चानका अनुसार भवनभित्रको तापक्रम अत्यधिक रहेको छ। “केही तल्लाहरूमा सहायता मागिरहेका मानिसहरूसम्म पुग्न अझै सकिएको छैन, तर हाम्रो प्रयास निरन्तर छ,” उनले भने।
उनका अनुसार हावा र जलिरहेको सामग्रीका टुक्राहरू ले आगो एक भवनबाट अर्कोमा झनै तिब्र रूपमा फैलिएको संकेत देखिएको छ।
अधिकारीहरूले आगलागीको वास्तविक कारण खोज्न विस्तृत छानबिन सुरु गरेका छन्। भवनको बाहिरी भागमा प्रयोग गरिएको सामग्रीले आगो फैलनमा भूमिका खेलेको हुनसक्ने देखिएकाले त्यसलाई अनुसन्धानको केन्द्रबिन्दु बनाइएको छ।



