वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा सञ्चालन गर्दै आएको Intelligence Led Operation अन्तर्गत ठूलो मात्रामा गाँजा बरामद गरेको छ।
लागुऔषध दुर्व्यसनले समाजमा पार्ने नकारात्मक प्रभाव तथा प्रधान कार्यालयको निर्देशनलाई मध्यनजर गर्दै पर्सा जिल्लामा लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। गणपति सप्रउ पुरन चन्द्र भट्टको नेतृत्वमा चलिरहेको सो अभियानले पछिल्लो सफलता हात पारेको हो।
विशेष सूचनाका आधारमा स.प्र.नि. दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले पर्सा जिल्ला, बिन्दवासिनी गाउँपालिका–५, बटसैरा क्षेत्रमा रहेको खेतीबालीभित्र परालको कुन्युमा लुकाइ–छिपाइ राखिएको अवस्थामा २१३ किलोग्राम (दुई क्विन्टल तेह्र किलोग्राम) गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजा २० वटा पोकामा प्याक गरिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद लागुऔषध आवश्यक कानुनी प्रक्रिया पूरा गराई सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले बताएको छ। साथै सीमा क्षेत्रमा लागुऔषध ओसार–पसार तथा अन्य आपराधिक क्रियाकलापमाथि निगरानी अझ कडा बनाइने सशस्त्र प्रहरीले जानकारी दिएको छ।



