पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जालमा तीव्र गतिले फैलिएको पर्सा जिल्लामा तोडफोड, आगजनी र अशान्ति भएको भन्ने सूचनालाई पूर्णरूपमा असत्य र भ्रामक रहेको स्पष्ट पारेको छ।
आज सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा टिकटक, फेसबुक लगायतका प्लेटफर्महरूमा पुराना वा अन्य स्थानका दृश्यहरू प्रयोग गरी पर्सामा अशान्ति भएको जस्तो देखाएर फैलाइएका भिडियोहरूबारे प्रहरीको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
प्रहरीका अनुसार मिति २०८२/०८/०३ मा पर्सा जिल्लाभर कुनै पनि प्रकारको तोडफोड, आगजनी वा हिंसात्मक घटना नघटेको पुष्टि गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “पर्सा जिल्लामा कानून–व्यवस्था सामान्य रहेको, सुरक्षा अवस्था सुदृढ रहेको र प्रहरी परिचालन प्रभावकारी रूपमा जारी रहेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई यस्ता अपुष्ट तथा अफवाहपूर्ण सामग्रीमा विश्वास नगर्न आग्रह गरेको छ। साथै, कुनै पनि शंका, आपतकालीन सूचना वा सुरक्षासम्बन्धी जानकारी प्राप्त भए तुरुन्तै जिल्ला प्रहरी कार्यालय पर्सालाई खबर गर्न अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले भ्रामक भिडियो तथा सूचनाले अनावश्यक त्रास सिर्जना गर्न सक्ने हुँदा सावधान रहन नागरिकलाई आग्रह गरेका छन्।
