काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए ।
उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् । पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।
परियारको पृष्ठभूमि कम्युनिस्ट भएको हुँदा उनी जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायत सँग संवादमा रहेको रास्वपा स्रोतले बतायो ।
यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’
