काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मंगलबार ९आज० देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा जन्मेका महागुरु फाल्गुनन्द किरात धर्म, भाषा, लिपि, संस्कृति, संस्कार र समाज सुधारका अग्रदूतका रूपमा परिचित छन्।
समाजमा व्याप्त कुसंस्कार र विभाजनविरुद्ध आवाज उठाउँदै उनले किरात समुदायका लागि नीति र आचारसंहिता तयार गरेका थिए। समाज सुधारका उद्देश्यले उनले विसं १९८८ वैशाख २४ गते जारी गरेको नीति ‘सत्य धर्म मुचुल्का’ अहिले पनि किरात समुदायबीच मार्गदर्शक दस्तावेजका रूपमा मानिन्छ।
महागुरु फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो। किरात धर्म, संस्कृतिको संरक्षण र समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनलाई विसं २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
पूर्वी पहाडी जिल्लाहरू — ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापालगायत किरात समुदायको बाक्लो बसोबास भएका क्षेत्रमा आज फाल्गुनन्द जयन्ती विशेष उत्साहका साथ मनाइँदैछ। यस अवसरमा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम र श्रद्धाञ्जलि सभाहरू आयोजना गरिएको छ।
किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माका अनुसार राजधानी काठमाडौंमा पनि विभिन्न मठ–मन्दिर र सांस्कृतिक स्थलमा किरात समुदायले फाल्गुनन्द जयन्ती मनाउँदैछन्। उनले भने, “महागुरु फाल्गुनन्दले सत्य, धर्म र समाज सुधारको बाटो देखाउनुभएको थियो। उहाँको विचार आज पनि हाम्रो सांस्कृतिक पहिचान र एकताको आधार बनेको छ।”
