वीरगञ्ज । सशस्त्र प्रहरी बलले बाराका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइरहेको नौ लाख १४ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । सिम्रौनगढ नगरपालिका–९ झरोखर ईलाकामा बि.ओ.पि. गोलागंजबाट खटिएको गस्ती टोलिले दुई वटा मोटरसाइकलसहित ५६ हजार ७३० रुपैयाँ मूल्य बराबरको किराना सामान र मोटरसाइकल चार लाख ६ हजार ७३० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ ।
त्यसैगरी देवताल गाउँपालिका–२ पसाहा खोला ईलाकामा मोटरसाइकल गस्ती टोलिले कपडा, चप्पल र मोटरसाइकल गरी तीन लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। पचरौता नगरपालिका–३ रामनगर वैरिया, कलैया–१० मटिअर्वा र फेटा गाउँपालिका–४ बतरा फेटा जाने बाटोमा पनि सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याइरहेको कपडा, मोटरसाइकल र अन्य सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा उपरीक्षक खुमबहादुर के।सी।का अनुसार सबै बरामद सामान वीरगञ्ज भन्सार कार्यालय बुझाइने छ।



