काठमाडौं । बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको वैवाहिक सम्बन्धमा दरार आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, सुनिताले मुम्बईको बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको लागि आधिकारिक निवेदन दर्ता गरेकी छन्।
रिपोर्टअनुसार, उनले गोविन्दामाथि अन्य महिलासँगको अवैध सम्बन्ध र मानसिक क्रूरतासमेतको आरोप लगाएकी छन्। उनले हिन्दु विवाह ऐन १९५५ अन्तर्गत धारा १३(१)(i), (ia), (ib) अनुसार सम्बन्ध विच्छेदको माग गरेकी हुन् । यो मुद्दा पहिलो पटक मे २५ मा अदालतमा पेस भएको थियो र त्यसयता दुवै पक्षबीच समाधान खोज्ने प्रयास जारी रहेको जनाइएको छ। सुनिता नियमित रूपमा अदालतमा हाजिर हुँदै आइरहेकी छन्, तर गोविन्दा भने हालसम्म अदालत उपस्थित भएका छैनन्।
तर गोविन्दाका निकट सहयोगी र व्यवस्थापकहरूले भने यी समाचारलाई अफवाह मात्र भएको दाबी गरेका छन्। गोविन्दाका भतिजा तथा हास्यकलाकार कृष्णा अभिषेकले पनि यो विषयमा प्रतिक्रिया दिँदै, गोविन्दा र सुनिताबीच अझैपनि राम्रो सम्बन्ध रहेको र यदि कुनै समस्या भए पनि उनीहरूले आपसी समझदारीमै समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।
यो पहिलो पटक होइन, गोविन्दा र सुनिताको सम्बन्धमा खटपटको चर्चा सार्वजनिक भएको। यसअघि पनि एक मराठी अभिनेत्रीको कारण उनीहरूको सम्बन्धमा समस्या आएको भन्ने हल्ला चलेको थियो, जसलाई दुवैले अस्वीकार गरेका थिए।



