काठमाडौं । भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमान स्थल बाट फर्काइएको छ । एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) नलिई विदेश जान लागेको पाइएपछि उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको हो।
दूतावासका कर्मचारीहरूको टोलीले ती महिलाहरूलाई स्थलमार्ग हुँदै सुनौली नाका पार गराई बिहीबार राति रूपन्देहीमा ल्याएर प्रशासनको जिम्मा लगाएको छ।
गृहमन्त्री रमेश लेखकले यस घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले तत्काल अनुसन्धान थाल्न निर्देशन दिएका छन्। गृह मन्त्रालयका अनुसार, मानव बेचबिखनको आशंका रहेकाले गृहमन्त्रीले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई गहिरो छानबिन गरी दोषीलाई कडा कारबाहीको दायरामा ल्याउन स्पष्ट निर्देशन दिएका छन्।
हाल महिलाहरूलाई सुरक्षित राखी घटनासम्बन्धी विस्तृत विवरण संकलनको प्रक्रिया अघि बढाइएको छ। सरकारका अनुसार, रोजगार वा भ्रमणको नाममा अवैध रूपमा वैदेशिक गन्तव्यमा पठाउने गिरोह सक्रिय रहेको र यस्ता क्रियाकलाप रोक्न उच्च सतर्कता अपनाइएको छ।



