रौतहट । एक नेपाली हज्ज यात्रु हज्जको प्रक्रिया पूरा नगरीकनै स्वदेश फर्किएका छन् । रौतहट जिल्लाको यमुनामाई गाउँ पालिका वडा नं. ३ मलहनियाका ७५ वर्षीय कर्मुल्ला शेख हिजो राति एयर अरेबियाको विमानमार्फत नेपाल आइपुगेका हुन् ।
शेख हज्जको प्रक्रिया शुरू नहुँदै बिरामी परेपछि हज्ज नगरी फर्कन निवेदन दिएका थिए । नेपाल हज समितिले उक्त निवेदन स्वीकृत गरी उनलाई स्वदेश फिर्ता गराउने व्यवस्था मिलाएको समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँले जानकारी दिए ।
उक्त उडानमा सँगै यात्रा गरेका यात्री लुकमान राइनले जानकारी गराएपछि मैले शेखका आफन्तजन र नेपाल हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँसँग समन्वय गरेको थिएँ ।
कार्यवाहक अध्यक्षले भने, “हज्ज यात्रीलाई फिर्ता गराउने सबै प्रक्रिया पूरा गरी विमानमा चढाइएको हो र नेपालमा रहेका उनका नातेदारलाई जानकारी दिइएको छ ।
बिहान फोन गर्दा सम्पर्क हुन नसकेकाले उनीहरू बाटोमा रहेको हुन सक्छ । म सम्पर्क गर्ने प्रयासमा छु ।” यात्री लुकमान राइनका अनुसार शेख अत्यन्तै विचलित अवस्थामा थिए, बिरामी थिए र सम्पूर्ण यात्राभरि रुँदै आएका थिए ।
