काठमाडौं । गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै पुनः सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत प्रशासनमा आज निवेदन दिएका हुन् । उनीहरूको निवेदन अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
यसअघि पौडेलको नियुक्ति नै रोक्न माग गर्दै उनीहरूले रिट दिएका थिए । तर, त्यो रिट अपरिपक्व भन्दै सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो । पौडेललाई मन्त्रिपरिषद् बैठकबाट ६ गते गभर्नर नियुक्त गरिएको थियो ।
उनले ७ गते शपथ ग्रहण गरी कार्यभार सम्हालिसकेका छन् । सर्वोच्चमा पेस भएको निवेदनमा पौडेल राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रको अनुभव नभएको र संस्थागत कार्यानुभवसमेत नभएको दाबी गरिएको छ ।
पौडेल राजनीतिक दलको व्यक्ति रहेको र उनी आफैं सिफारिस समितिको सदस्यसमेत रहेकै अवस्थामा पहिल्यै म्याच फिक्सिङको शैलीमा नियुक्ति गर्ने परिपाटीले राष्ट्र बैंक ऐन, २०५८ को दफा २१, ३२ र सुशासन ऐन, २०६४ को दफा १८ को स्पष्ट बर्खिलाप रहेको दाबी रिट निवदेनमा गरिएको छ ।
