काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को हालको सिजन बीचमै स्थगित गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को बैठकले आईपीएलको हालको सिजन बीचमै स्थगित गर्ने निर्णय गरेको हो । बीसीसीआईका अनुसार आज देखि कुनै पनि खेल हुनेछैन । बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने पनि जनाएको छ ।
अब पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु रहेको बीसीसीआईले जनाएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मे ८ सम्म ५८ खेलहरू भएका थिए । यसमा पञ्जाब किंग्स (पीबीकेएस) र दिल्ली क्यापिटल्स (डीसी) बीचको खेल पनि समावेश छ। बुधबारमा धर्मशालामा भएको खेल भारत–पाकिस्तानबीचको तनावका कारण बीचैमा रद्द गरिएको थियो ।
यसैबीच धर्मशालामा रहेको हिमाचल प्रदेश क्रिकेट संघले रंगशाला खाली गराइएको छ। खेलाडीहरूलाई धर्मशालाबाट दिल्ली ल्याउन विशेष रेल चलाइएको थियो । आईपीएलको यो चरण यही रोकिएको छ । अब विश्वको सबैभन्दा रोमाञ्चक टी–२० लिगका बाँकी खेलहरू अवस्था सामान्य भएपछि मात्र आयोजना गरिनेछ। यसको मिति चाँडै घोषणा गरिनेछ ।
