काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन् ।
प्रचण्ड गत राति ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा सुत्नुअघि शौचालयमा चिप्लिएर लडेका थिए । घटनापछि तत्कालै उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो ।
डाक्टरका अनुसार, उहाँको निधार र टाउकोमा सामान्य चोट लागेको छ, तर अवस्था चिन्ताजनक छैन । उपचारपछि उहाँ गएराति नै निवास फर्किसक्नुभएको छ ।
प्रवक्ता गोविन्द आचार्यका अनुसार, प्रचण्ड आज बिहानैदेखि भेटघाट लगायत नियमित राजनीतिक गतिविधिमा संलग्न रहनु भएको छ । नेतृत्वको स्वास्थ्यप्रति चासो राख्ने सबैलाई आचार्यले धन्यवाद दिंदै प्रचण्डको अवस्था सामान्य रहेको आश्वासन दिएका छन् ।
