काठमाडौं । राजधानीको सुन्धारास्थित आकाशे पुलमुनि एक पुरुषमाथि ट्राफिक प्रहरीले गरेको कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को आलोचना सुरु भएको छ । त्यसको प्रतिक्रिया स्वरूप काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनामा संलग्न चार ट्राफिक प्रहरीलाई तत्काल प्रभावबाट जिम्मेवारीबाट हटाएको छ ।
वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीले एक जना पुरूषमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । प्रारम्भिक अनुसन्धानबाट घटना गएको मङ्सिर २३ गते सुन्धारामा रहेको आकाशे पुल मुनि भएको पाइएको छ । घटनबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
ट्राफिक कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार, जिम्मेवारीबाट हटाइएका प्रहरीहरूलाई कार्यालयमै फिर्ता बोलाइएको छ र उनीहरूमाथि आन्तरिक छानबिन सुरु गरिएको छ ।
भिडियो सार्वजनिक भएसँगै ट्राफिक प्रहरीको व्यवहारप्रति सर्वसाधारणको चासो र असन्तुष्टि बढ्दै गएको छ । प्रहरी प्रशासनले यस्ता घटना दोहोरिन नदिन र दोषीमाथि उचित कारबाही गर्न प्रतिबद्धता जनाएको छ ।
सार्वजनिक स्थानमा नागरिकमाथि दुर्व्यवहार र कुटपिट गर्नु कानुनतः आपत्तिजनक मात्र होइन, प्रहरी प्रतिको जनविश्वासमा पनि गम्भीर चोट पुर्याउने काम भएको भन्दै सर्वसाधारणले निष्पक्ष अनुसन्धानको माग गरिरहेका छन् ।
