काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देशभर श्रद्धा र भक्तिका साथ मनाइँदैछ । यस अवसरमा घर–घरमा नवदुर्गा भगवतीको पूजा–आराधना गरिनुका साथै विभिन्न शक्तिपीठहरूमा विशेष पूजा आयोजना गरिएको छ ।
वर्षमा चारपटक नवरात्र पर्नेमध्ये आश्विन र चैत्र नवरात्र विशेष मानिन्छन् । आश्विन शुक्ल पक्षमा मनाइने दसैँलाई बडादसैँ भनिन्छ भने चैत्र शुक्ल पक्षको अष्टमीलाई चैते दसैँ र नवमीलाई रामनवमीको रूपमा मनाइन्छ । चैते दसैँमा बडादसैँजस्तै जमघट, पूजा तथा बलि दिने परम्परा पनि कायम छ, यद्यपि अधिकांश घरमा टीका जमरा लगाउने चलन भने कम देखिन्छ ।
चैते दसैँका अवसरमा उपत्यकाका गुह्येश्वरी, भद्रकाली, शोभा भगवती, नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, बिजेश्वरी, बज्रयोगिनी लगायतका प्रमुख शक्तिपीठमा विशेष पूजा आराधना गरिएको छ । त्यस्तै, उपत्यका बाहिरका मनकामना, गहवामाई, वागेश्वरी, चण्डेश्वरी, शैलेश्वरीलगायत मन्दिरहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दसैँघरमा घटस्थापना गरि दुर्गा सप्तशती (चण्डी) पाठ गरिँदै आएको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार मातहत रहेको दसैँघर अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत छ ।
धार्मिक विश्वासअनुसार, चैत्र नवरात्रमा देवीको आराधना गर्दा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यस पर्वले धार्मिक चेतना जगाउनुका साथै पारिवारिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने संस्कृतिक महत्व बोकेको छ ।
