वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट पुनः सुरु हुने भएको छ । यसअघि, मङ्गलवार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको बैठकमा जिल्ला सुरक्षा समिति र विद्यार्थी संगठनहरूको सहमतिमा मतगणना प्रक्रिया पुनः सुचारु गर्न निर्णय गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको अध्यक्षतामा भएको बैठकमा स्ववियु निर्वाचनका उम्मेदवार र विद्यार्थी संगठनका प्रतिनिधिहरूले भाग लिएका थिए । बैठकमा क्याम्पसमा कथित फर्जी भर्नाको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय पनि गरिएको छ ।
यो समितिको संयोजक सहायक सिडिओ सुमन कुमार कार्की हुनेछन्, जसमा प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल र विद्यार्थी संगठनका तीन प्रतिनिधि सदस्यका रूपमा सहभागी हुनेछन् ।
सिडिओ अर्यालले भने, “छानबिन समितिले फर्जी भर्नाको विस्तृत अनुसन्धान गरी दोषी पाइएको खण्डमा कारबाहीको सिफारिससमेत गर्नेछ ।” उनले थपे, “सहमतिका आधारमा आज १ बजेबाट मतगणना सुरु हुनेछ ।”
तर, केही विद्यार्थी संगठनहरूले भने मतगणना सुरु गर्नअघि अदालतको निर्णय आवश्यक भएको अडान राखेका छन् । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका स्ववियु सभापति उम्मेदवार हरि किशोर यादवले उच्च अदालत जनक पुरमा रिट निवेदन दायर गरेका छन्, जसले मतगणनालाई स्थगित गर्नुपर्ने दाबी गरेका छन् ।
यसैबीच, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश यादवले भने, “मतगणना पुनः सुरु गर्ने सहमति भएको कुरा हामीले स्वीकार गरेका छौं, र १ बजेबाट प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरेका छन् ।”
ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि भएको स्ववियु निर्वाचनको मतगणना गत मङ्गलवारबाट सुरु भएको थियो । तर, मतपेटिकाको नम्बर र उम्मेदवारका प्रतिनिधिहरूसँग भएको मुचुल्का नम्बर नमिलेपछि विवाद उठेका थिए ।
विद्यार्थीहरूले क्याम्पस प्रशासनमाथि आरोप लगाएका थिए कि विशेष समूहलाई जिताउन मतपेटिका साटिएको छ । यस विवादका कारण मतगणना रोकिएको थियो । स्ववियु निर्वाचनमा २४७ उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्, जसमा सभापति पदका लागि १४ उम्मेदवार छन् ।



