वीरगञ्ज । वीरगञ्जको मुटुमा अवस्थित प्रसिद्ध ऐतिहासिक तथा धार्मिक महत्त्वको श्री गहवा माई मन्दिरको दोस्रो डोली यात्रा आउँदो चैत्र २३ गते शनिबार आयोजना गरिने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै माईस्थान संचालक समितीका अध्यक्ष नरेन्द्र कुमार शाहले यस वर्षको चैते दशैंको अष्टमीको दिन यो डोली यात्रा हुन लागेको बताए ।
दिउँसो ४ बजे श्री गहवा माई मन्दिरको प्राङ्गणबाट निशानसहित सुरु हुने डोली यात्रा रोड नम्बर २ हुँदै विर्ता माई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, माईस्थान चोक परिक्रमा गरी पुनः गहवा माई मन्दिर प्राङ्गणमा समापन हुनेछ ।
डोली यात्रा सुरु हुनुअघि दिउँसो २ बजे डोली तथा निशानको विशेष पूजा गरिने र सो दिन साझ ६:३० बजे आरती गरीर्ने कार्यक्रम रहेको शाहले जानकारी दिए । गत वर्षको प्रथम डोली यात्राको सफलतापछि यस वर्ष पनि भव्य रूपमा दोस्रो डोली यात्रा आयोजना गर्न लागिएको हो।\
गत वर्ष विभिन्न दाताहरूको सहयोग प्राप्त भएको र ६ सय ५० वटा गहवा माई अङ्कित निशान वितरण गरिएको थियो । यस वर्ष करिब १ हजार निशान वितरण गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
डोली यात्राको सहयोग स्वरूप गहवा माई अङ्कित निशान प्रति गोटा ३ सय ५० रुपैयाँमा उपलब्ध गराइने शाहले बताए । पत्रकार सम्मेलनमा महासचिव विजय कुमार उपाध्याय, सचिव एवं प्रचारप्रसार समितिका कन्हैया लाल केशरी लगायतको उपस्थिति थियो । कार्यक्रममा आयोजकले गत वर्षझैं यस वर्ष पनि सबैको सक्रिय सहभागिता र सहयोगको अपेक्षा राखेका छन् ।



