वीरगञ्ज । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज भन्सारबाट ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७२.०१ प्रतिशतको वृद्धि हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले जानकारी दिएका अनुसार, यस वर्ष भटमासको तेलको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । चालु वर्षको आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको छ ।
त्यस्तै, चार अर्ब ८८ करोड रुपैयाँ मूल्य बराबरको जुस र तीन अर्ब ६८ करोड मूल्यका फलाम तथा फलामका सामग्री पनि निर्यात भएका छन् । यो निर्यात वृद्धि नेपालको व्यापार र अर्थतन्त्रमा सकारात्मक संकेतको रूपमा लिइएको छ ।
