वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ठोरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला सोमबार साँझ ५ बजेतिर जंगलबाट आएको बाघले आक्रमण गर्दा सुबेदीको मृत्यु भएको हो ।
आक्रमण गर्ने बाघ भने जंगलतिर भागेको स्थानीयले बताएका छन् । मृतक महिलाको शव पोष्टमार्टमका लागि बीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले बताए । एक महिनाभित्रै पर्सामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।



