काठमाडौं । अवैध रूपमा रुस पुगेर सेनामा कार्यरत रोल्पाका एक अर्का युवाको मृत्यु भएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमा कसला गाउँका ४४ वर्षीय तिर्खबहादुर बुढाथोकीको फागुन २४ गते युक्रेनी सेनाको ड्रोन आक्रमणमा परेर मृत्यु भएको हो ।
२०८० असोजमा भारत हुँदै अवैध रूपमा उनी रुसी सेनामा भर्ना हुन रुसमा पुगेका थिए । करिब डेढ वर्षदेखि रुसी सेनामा कार्यरत उनी धेरै लडाइ र आक्रमणमा सहभागी हुँदै आएका थिए ।
पछिल्लोपटक भने उनीलगायत रुसी सेनामा कार्यरत ४ जनाको टोलीमाथि युक्रेनी सेनाले ड्रोन आक्रमण गरेको थियो । उक्त टोलीमा १ जना नेपालीसहित ३ रुसी सेना भएकामा तिर्खसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका थिए ।
तिर्खका ७० वर्षीय बुबा ओमबहादुर बुढाथोकीले फागुन १३ गतेदेखि छोरा सम्पर्कविहीन भएको बताए । ऊ फागुन १३ गतेदेखि सम्पर्कमा थिएन । एक्कासि २४ गते युक्रेनी सेनाको ड्रोन आक्रमणमा परेको खबर आयो । उसले अर्काको मुलुकमा ज्यान गुमाएछ, कान्छो छोरा गुमाएका उनी भक्कानिँदै भन्छन् ।
रुसी सेनाको आक्रमण योजनाअनुसार यसअघि धेरैपटक तिर्ख सम्पर्कविहीन भएर लडाइँमा जाने र पुनः सम्पर्कमा आउने गरे को बुबाको स्मरण छ । तर फागुन २४ मा तिर्खले ज्यान गुमाए पछि भने उनको परिवार शोकाकुल बनेको छ । तिर्ख आक्रमण मा परेर मारिएको खबर उनीसँगको टोलीमा रहेका पूर्वी नेपालका अर्का एक नेपालीले पत्ता लगाएर जानकारी दिएका थिए ।
मृत्युको खबर सुनेपछि उनको घरमा काजकिरिया गर्ने तयारी भइरहेको छ । ऊ मारिएको खबर सुन्यौँ, त्यति टाढाको मुलुक, त्यो पनि ड्रोन आक्रमणमा परेको शव आउने नआउने अन्योलमा तिर्खको स्मरणमा काजकिरिया गर्न थालेका छौ, बुबा ओमबहादुरले भने । खबर सुनेको दिनलाई नै परिवारले तिर्खको मृत्युको दिन ठानेका छन् ।
करिब अढाई वर्ष नेपाली सेनामा कार्यरत रहेका उनी २०७४ मा आफ्नै वडाको निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । तिर्खका बुबाआमा, श्रीमतीसहित दुई सन्तान छन् ।
तिर्खको मृत्यु भएको खबर पाएपछि परिवारलाई सान्त्वना दिन स्थानीय जनप्रतिनिधि उनको घरमा पुगेका छन् । यस अघि रुसी सेनामा कार्यरत अन्य दुई रोल्पालीले ज्यान गुमाइसकेका छन् । अघिल्लो वर्ष गैरीगाउँका एक युवाले र नुवागाउँ निवासी अर्का युवाले रुसमै युक्रेनी सेनाको आक्रमणमा परेर ज्यान गुमाएका थिए ।
