वीरगञ्ज । मधेस प्रदेशकै सर्वाधिक धनराशि पुरस्कार रहेको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ आगामी शनिबार (फागुन १७) देखि सुरु हुँदैछ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा आर्दशनगर रंगशालामा फागुन २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
आयोजक क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आठ टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ । नकआउट आधारमा खेलाइने प्रतियोगितामा सङ्कटा क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, बागमती यूथ क्लब सर्लाही, गरवाल डाइमण्ड क्लब दिल्ली, चर्च ब्वाइज युनाइटेड, सलहेश क्लब सिराहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब सहभागी हुनेछन् ।
विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवका अनुसार यस पटकको प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताको दर्शक व्यवस्थापनका लागि अस्थायी प्याराफिट निर्माण गरिएको छ, जसमा करिब २ हजार दर्शक अटाउनेछ भने ग्राउन्डमा ३ हजारभन्दा बढी दर्शकका लागि स्थान राखिएको छ ।
पछिल्ला वर्षहरूमा सुस्ताएको वीरगञ्जको फुटबल गतिविधिलाई पुनः सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक श्रीवास्तवले बताए । पहिलो संस्करणको वीरगञ्ज गोल्डकप २०८० मा नेपाल पुलिस क्लब विजेता र नेपाल आर्मी क्लब उपविजेता बनेका थिए ।



