काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै छ । हिजो थुनछेक बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज अदालत मा उपस्थित गराउनेगरी न्यायिक हिरासतमा पठाएको थियो ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा पुरक मुद्दा परेका रविसहित १५ जना प्रतिवादीको हिजोबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । हिजो सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए ।
सहकारी पीडितको तर्फबाट रमेश काफ्लेले मात्रै बहस गर्न भ्याउनभएको थियो । आज प्रतिवादीका अन्य वकिल र जाहेरवाला का तर्फबाट बहस हुनेछ । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।
