काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानको शुुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार काठमाडौंको महा राजगञ्जस्थीत शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गर्नुुभएको हो ।
सो क्रममा प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माण गर्न सवै नागरिक निरोगी हुनुपर्ने बताउनुभयो । उहाले क्यान्सरजस्तो घातक रोगलाई लाग्नै नदिने र पाठेघरको मुखको क्यान्सर जनस्वास्थ्य समस्याको रुपमा नरहने गरि नियन्त्रण गरिने उल्लेख गर्नुभयो ।
सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्र्तराष्ट्रिय रणनीति बनाएको र यसमा नेपालले सफलता हासिल गर्ने उहाले बताउनुभयो । त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले खोप अभियान सञ्चालनका लागि २७ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।
उहाले एचपिभी खोपले कसैको स्वास्थ्यमा समस्या नहुने भन्दै निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । नेपालीलाई निरोगी भएर बाच्ने अवस्था बनाउन सरकार गम्भीर भएर लागेको उहाले बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ्य बिमालाई परिणाममूखी बनाउने गरि मन्त्रालयले काम गरिरहेको धारणा राख्नुभयो ।
मंगलबारबाट आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिला को मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ ।
