काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएको छ । दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको छ । उक्त विमानमा ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सले जनाएको छ ।
वासिङ्टन अग्नि नियन्त्रण विभागका अनुसार बुधबार राति रोनाल्ड रेगन विमानस्थल नजिकै दुर्घटना भएको हो । दुर्घटना अमेरिकन एयरलाइन्सको सीआरजे७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक (H-60) हेलिकप्टर ठोक्किएर भएको थियो । एयरलाइन्सका अनुसार सीआरजे७००० जेटमा ६५ सिट छन् । एयरलाइन्स कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको बीबीसीमा उल्लेख छ ।
यो जेट क्यान्सस राज्यबाट राजधानी वाशिंगटन आउँदै थियो । हाल विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ। दुबै विमान पोटोम्याक नदीमा खसेको जनाइएको छ। प्रहरीहरु उद्धारकार्यमा जुटेका छन्।
अमेरिकी ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पलाई दुर्घटनाको बारेमा जानकारी गराइएको बताइन् । ट्रम्पले मानिसहरूलाई शान्त रहन आग्रह गरेका छन् र अधिकारीहरूलाई उद्धार कार्य सञ्चालन गर्न आग्रह गरेका छन् । उनले आफू लाई घटनाको बारेमा जानकारी प्राप्त भएको जनाएका छन् । घटनाको थप जानकारी लिंदै गरेको पनि उल्लेख गरेका छन् ।
