पोखरा । सहकारीको रकम हिनाविना मुद्दामा रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि अदालत पेश गरेको छ । यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि थप अनुसन्धान गर्न दिएको म्याद सकिएसँगै उनलाई आज पुन: अदालत उपस्थित गराएको कास्की प्रहरीले जानकारी दिएको छ ।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमै रहेका बेला लामछानेलाई बुटवल,काठमाडौं र चितवनमा बयानका लागि लगिएको थियो । सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकाले छ । प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगञ्जको सानोपाइलाको रकम अपचलन भएको छ ।
त्यस्तै, इमेज, समानता, सुमेरू र आइएमईबाट पनि गोरखा मिडियामा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख छ । ती सहकारीका सञ्चालक र निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन विपरीतको कार्य गरेकाले कारबाहीका लागि सम्बन्धित निकाय मा पठाउन समितिले सरकारलाई सिफारिस गरेको छ ।
