काठमाडौं । शिखर धवनको अर्धशतकका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजसँग पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली काठमान्डुसँग तीन विकेटले पराजित भएको हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १९ ओभर ३ बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । काठमान्डुका लागि सुमित महर्जनले सर्वाधिक ४० रन बनाए । कर्णालीका लागि पाँच खेलाडीले एक एक विकेट लिए ।
काठमान्डुको यो पहिलो जित हो । आजको जितबाट काठमान्डुले दुई अंक जोडेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो । त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । कर्णालीका लागि शिखर धवनले ५१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ७२ रन बनाएका थिए । धवनको पहिलो अर्धशतक हो ।
