काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार ,अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कुल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगन्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति वञ्चित छन् ।
प्रतिवेदनअनुसार नेपालको कुल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भए का व्यक्ति छन् । जनगणनाको प्रतिवदेनअनुसार कुल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालमा विपद्सम्बन्धी कानून र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूलाई मानवअधिकारको समान उपयोग, सेवा सुविधा र अवसरमा समान पहुँच र निर्णय प्रकृयाहरूमा समान प्रतिनिधित्व गराउने प्रतिबद्धताका साथ संविधान लेखन तथा कानून बनेका छन् ।
तर अझै पनि विभिन्न अवरोधहरुको कारण उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक संरचना, सञ्चार, यातायात जस्ता आधार भूत सेवा र अवसरहरूलाई अरु सरह उपयोग गर्न नपाएका राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका सङ्घीय अध्यक्ष देवीदत्त आचार्यले बताउनुभयो ।
शारीरिक संरचनामा आएको कठिनाइका बाबजुद अपाङ्गता भएका व्यक्तिहरूले अहिले पनि समाजमा शारीरिक, मानसिक लगायत धेरै किसिमका कठिनाइसँग जुध्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
