काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलको ट्रफी अनावरण गर्नुभएको हो ।
ट्रफी अनावरण कार्यक्रममा लिग खेल्ने ८ वटै टोलीका मार्की खेलाडीको समेत उपस्थीति रहेको थियो । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुुत गर्न प्रत्यक्ष सहयोग पुुग्ने बताउनुुभयो ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुुभयो ।
क्रिकेट अहिलेको पुस्ताको सपना र गौरवको विषय पनि भएकाले नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सवै लाग्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलले नेपाली क्रिकेटलाई विश्वमाझ थप उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको बताउनुभयो । ट्रफीले नेपालीको भावना र प्राकृतिक सम्पदासंग जोड्न खोजेको उहाले जानकारी दिनुभयो ।
खड्काले ट्रफीका लागि पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ढुंगा ल्याएर सहयोग पुराएको जानकारी दिनुभयो । यहि शनिबारबाट सुरु हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगीता पुस ६ गते समापन हुने क्यानले जनाएको छ ।
