वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । शुक्रबार (आज) बिहान १० बजेतिर वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको हो ।
दुर्घटनामा बारा जिल्ला प्रसौनी गाउँपालिका ३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य १६ जना घाइतेहरूमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका नेपाली नागरिकका साथै भारतका चारजना यात्रु रहेका छन् । घाइतेहरूमा ३ वर्षदेखि ५२ वर्षसम्मका यात्रुहरू छन् ।
प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा पु¥याएको छ । सबै घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नाव उपरीक्षक डिएसपी श्याम अर्यालले बताए ।
बसमा १८ जना यात्रु सवार रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
